नेपालमा व्यवासायिक बाख्रापालनका प्रचुर सम्भावना तथा चुनौतिहरु: शेरबहादुर जेठरा

लेखक: शेर .जेठरा
(B.V.Sc. & A.H.running)
IAAS Pakhlihawa

परिचय:

 नेपाल एक कृषि प्रधान मुलुक हो । यहाँ  करिब  ६५ % जनसङ्ख्या कृषि पेशामा आबद्ध रहेका छन् । नेपालको परिपेक्षमा कृषि अन्तर्गत   पशुपंक्षी पालन  क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा करिब ११% र कुल कृषि गार्हस्थ उत्पादनमा करिब २६.८% योगदान प्रदान गर्दै आएकाले नेपालमा पशुपंक्षी क्षेत्रको विशेष आर्थिक महत्व छ।पशुपालन व्यवसायमा बाख्रा पालन एक अभिन्न अंगको रूपमा सबै भौगोलिक क्षेत्रका कृर्षकहरूले अपनाएका छन् । आर्थिक वर्ष २०७३/७४ अनुसार नेपालमा १०,९८६,११४ बाख्रा रहेका छन् र करिब ६५,५८३ मेट्रीक टन मासु उत्पादन रहेको छ। कुल मासु उत्पादन क्षेत्रमा २०% हिस्सा बाख्राले ओगटेको छ ।

 बाख्रापालन प्रमुख उद्देश्य मासु उत्पादन मात्र नभई उच्च हिमाली क्षेत्रमा सामानको ढुवानीको निम्ति समेत बाख्राहरूको प्रयोग हुदै आएको छ। यस बाहेक बाख्राका छाला, रौ(पस्मिना) र हड्डीबाट निर्मित विभिन्न सरसामानहरु उपयोग पनि भइरहेको छ ।

नेपालमा बाख्रा फार्मका किसिम:

Advertisements

१.एक्सटेनसिभ: यस्तो खालको फार्ममा व्यवासायिक प्रयोजनका लागि मुख्य उद्देश्य हुँदैन । यसमा बाख्रा पालनका लागि पर्याप्त जमिन र उचित खोरको व्यवस्थापन  पनि हुदैन ।

२.सेमी ईन्टेन्सिभ: यो अलि व्यवासायिक खालको फार्म हो।यसमा केही मात्रमा बाख्राहरूका सङ्ख्या बढी हुन्छन्, र व्यवस्थित खोरको निर्माण गरेका हुन्छन् ।

३.ईन्टेन्सिभ: यो अलि विकसित तथा वैज्ञानिक तवरले निर्माण गरेको व्यवासायिक फार्म हो।यसमा केही ठूलो सङ्ख्यामा बाख्राहरू पाल्ने, व्यवस्थित आहार तथा पशु चिकित्सकको सरसल्लाह बमोजिम खोलेको फर्म हुन् ।

बाख्राको वर्गिकरण

उपयोगिताको आधारमा बाख्राको वर्गिकरण निम्न अनुसार गरिएका छन ।

(क) मासु उत्पादनको लागि – वारवेरी, खरी, व्ल्याक बंगाल, अफ्रिकन वोयर, माउटाउ, आदि ।

(ख) दूध उत्पादनको लागि – सानन, नुवियन, डामास्कस, अल्पाइन आदि ।

(ग) ऊन वा रौं (पश्मिना) उत्पादनको लागि –च्याङ्ग्रा, कश्मिरी सोभियत डाउन आदि ।

नेपालमा बाख्राको मासुको  माग तथा पुर्ति :

नेपालमा वार्षिक १ करोड २८ लाखवटा खसी, बोका र बाख्रा तयार हुन्छन्। तीमध्ये प्रत्येक वर्ष करिब ३३ लाखवटा खसी मासुका लागि कटनीमा जान्छन,” (पशु सेवा विभाग) । कुल ३३ लाखवटामा वार्षिक २७ लाख खसी काठमाण्डूबाहेक अन्य जिल्लामा खपत हुने सरकारी तथ्याङ्कले देखाउँछ। बाँकी छ लाखवटा खसीको राजधानीमा खपत हुन्छ। दशैँका बेला खसीको मासु खपतमा व्यापक वृद्धि हुने भए पनि दशैँ र तिहार मनाउन ठूलो सङ्ख्यामा राजधानीबाट मानिसहरू बाहिरिने हुँदा मासिक रूपमा हुने खपतको अनुपातमा भने धेरै फरक नपर्ने व्यावसायीहरू बताउँछन् । दशैँका बेला काठमाण्डू उपत्यकामा अन्य जनावरको मासु खपतमा पनि त्यत्तिकै वृद्धि हुने सरकारी अधिकारी र मासु व्यवसायीहरू हरू बताउँछन्।

एफएओको २०१० को तथ्याङ्क अनुसार संसारमा प्रतिवर्ष प्रतिव्यक्ति मासुको उपभोग औसत ४१.९ किलोग्राम छ, जबकि आ.व. २०७३/७४ को आर्थिक सर्वेक्षण अनुसार नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति मासुको उपभोग १४ किलोग्राम मात्र छ । खसीको मासुको माग परिपूर्ति गर्न वर्षेनि ४ देखि ५ लाख बाख्रा तथा खसी भारतबाट आयात हुँदै आएको छ, जुन कुल मागको १२/१५ प्रतिशत हुन आउँछ। यो बाहेक पनि तेस्रो मुलुकबाट वर्षेनि फ्रोजन मासुको आयात हुँदै आएको छ। औसतमा चार पशु प्रति–घरपरिवार रहे तापनि घरेलु मागलाई पुरा गर्न जीवित पशु तथा तयारी मासुको आयात गर्नुपर्ने अवस्थाले नेपालमा मासुको माग र आपूर्तिको सन्तुलन मिलाउन देशभित्र नै मासुमा प्रयोग हुने पशुपालनलाई बढाउन जरुरी छ ।

बाख्रामा व्यवासायिककरण तथा व्यवस्थापन :

एक सफल बाख्रापालन व्यवासायिकका लागि तलका कुराहरू एकदमै महत्वपूर्ण हुन्छन् ।

.खोरको व्यवस्थापन:

व्यवासायिक रूपमा बाख्रा पालनको लागि खोरको निर्माण तथा व्यवस्थापन एक महत्वपूर्ण कुरा हो। नेपालको धेरै जसो ठाउमा परम्परागत तरिकाले निर्माण गरेका खोरहरु छन, जसमा क्षमता भन्दा बढी बाख्रा पालन गरिरहेका छन जसले गर्दा चाहेजस्तो मुनाफा पाइरहेका छैनन्। अहिले भने केहि कृषि कार्यक्रम र कृषिमा आधुनिकरणले गर्दा किसानहरुको लगाब उतारचढाव पनि धेरै पाएको छ र अहिले बाख्रापालनमा  पनि उत्तिकै संलग्न हुनाले बाख्राको खोर कस्तो बनाउने, कुन ढाँचा/आकारको बनाउने कुरामा पनि चासो दिइरहेका छन। त्सैगरी नेपाल सरकारले पनि खोरका  केहि मोडलहरू/ नमुना सिफारिस गरेका छन् र केहि निजी फार्महरूले पनि अनुसन्धान बाट केहि मोलडहरू सिफारिस गरेका छन् । जस्तो सुकै मोडलको खोर बनाउदा पनि केहि आधारभुत कुराहरूलाई ध्यान पुर्याउनु पर्ने हुन्छ ।

  • बाख्राको खोरको लागि उपयुक्त हावापानी, सिरेटो, तातो हावा, एवं सूर्यको प्रकाशको अवधिलाई विचार पुर्याउनुका साथै पानी नजम्ने र केहि अग्लो स्थानको छनौट हुनु पर्दछ ।
  • खोर बनाउदा बाख्रा बस्ने टाँड जमिन भन्दा कम्तिमा ९० सेन्टीमिटर अग्लो स्थानमा बनाउनु पर्दछ। यसरी खोर बनाउदा बाख्राको बड्कौला (दिसा) र पिसाव बाट आउने गन्ध पुरै खोर भित्र आउदैन। ध्यान पुर्याउन पर्ने कुरा के छ भने दिसापिसाव कुहिदा निस्किने ग्याँसहरू (सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि) ले साना-साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन सक्छ ।
  • बाख्राको खोर बनाउदा ३ वा ४ फिट भन्दा माथि सानो झ्याल (भेन्टिलेसन्) राख्न जरूरी हुन्छ। यसरी भेन्टिलेसन् राख्दा बाख्रालाई स्वासप्रस्वास सम्बन्धि रोगहरूमा न्यूनिकरण गर्न सकिन्छ। यसको साथसाथै गन्धपनि कम गर्न सकिन्छ। गाँउघरमा बाख्राको खोरमा झ्याल राख्दा बाख्रालाई चिसो लाग्छ भन्ने मान्यता पाईन्छ। तर सानो झ्याल राख्दा बाख्रालाई घाटा भन्दा फाईदा नै बढि हुन्छ।
  • खोर निमार्ण क्षेत्र छनौट गरिएको ठाउँमा साथै आवश्यकता अनुसार फार्म विस्तार गर्न प्रयाप्त जमिन भएको हुनु पर्दछ ।
  • खोर चरन तथा घाँस खेतीको विकास गर्न सकिने ठाउँबाट नजिक हुनुपर्दछ ।
  • खोर निर्माण गर्ने स्थान खानेपानी, यातायात र वजारको विकास भएको ठाउँबाट नजिक हुनु पर्दछ ।
  • सामन्तया पहाडीभेगमा खोर बनाउँदा दक्षिण वा पूर्व मोहोडा र तराई वा गर्मि ठाउँमा उत्तर वा पश्चिम मोहोडा पारी बनाउनु उपयुक्त हुन्छ ।
  • खोर निर्माणमा सिफारिस गरिएको मापदण्ड अनुसार हुने गरि स्थानीयस्तरमा उपलव्ध हुने कम खर्चिलो वस्तुहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । बरू महँगो खोर बनाउनु को सट्टा राम्रो व्रिड को बाख्रा किन्ने ।
  • बाख्राको लागि आवश्यक दाना, घाँस राख्नको लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्छ ।
  • खोर निर्माण गर्दा पाठापाठी, थारा माउ, व्याउने, व्याएका माउ, खसी र प्रजनन् बोकालाई छुट्टा छुट्टै राख्ने व्यवस्था मिलाउनु पर्छ । वयस्क बोकाहरुलाई बाख्राहरुसँगै एकै ठाउँमा राख्दा अनियन्त्रित गर्भधारण हुने र व्याउने बाख्रा भएमा तुहिने डर हुन्छ ।
  • माउसँग दूध नछुटेका पाठापाठीहरुको खोर/कोठा र माउ वस्ने कोठा एक आपसमा देखिने हुनुपर्दछ ।
  • माउबाट छुटाईसकेका, हुर्केको र वयस्क हुन लागेका पाठापाठीहरुलाई छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्था गरि खोर बनाउनु पर्छ ।
  • बाख्रालाई दानापानी खुवाउन एवं हिडडुलको लागि खोरको अतिरिक्त खुला ठाउँ (प्याडक) को व्यवस्था गर्नु पर्छ ।
  • प्याडकमा दाना र पानी खुवाउनको लागि छुट्टाछुट्टै डुँड बनाउनु पर्दछ ।
  • विरामी बाख्रा र अन्यत्रबाट किनेर ल्याइएका बाख्राबाट सक्रामक रोगहरु फैलिने संभावना भएकोले यस्ता बाख्रालाई अलग्गै खोरको व्यवस्था गर्नुपर्दछ । यस्तो खोर स्वस्थ्य बाख्राको खोर भन्दा टाढा बनाउनु पर्छ ।
  • हिउँद तथा पानीको समयमा खोरभित्र बसेका बाख्रालाई चिसोबाट बचाउन जुटका बोरा/पाल झुण्डाउने तर दिनमा (झरी बादलको दिन वाहेक) बोरा सारेर घाम खोरमा पस्न दिएमा खोर स्वस्थकर हुन्छ ।
  • साधारणतया बच्चा जन्माउनु भन्दा ४ देखि ७ दिन अगाडिदेखि बच्चा पाएको एक हप्तासम्म माउ बाख्राहरु अलग्गै राख्नु पर्छ ।
  • टाँडमुनी थुप्रिएको बड्कौलालाई कम्तिमा हप्ताको २ पटक हटाउनु पर्छ । समय समयमा यसरी बडकौंलाहरु ननिकालेको खण्डमा यसबाट निस्कने ग्याँस र फोहोरले बाख्राको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै वजन नबढ्ने र प्रजनन् क्षमतामा समेत ह्रास आउनुको साथसाथै स–साना पाठापाठीहरुको मृत्युदर बढ्ने गर्दछ ।
  • खोर सफा गर्न फिनेल पानीको को झोल प्रयोग गर्नु उपयुक्त हुन्छ । खोरको वरिपरी सफा गर्न फिनेल र पानीको अनुपात १०:३२—१०:५० हुनुपर्छ । फिनेलको सट्टा ब्लिचिङ्ग पाउडरको झोल तयार गरि प्रयोग गर्न सकिन्छ ।
  • बाख्रालाई दानापानी खुवाउने डुँडको नियमित रुपमा सरसफाई गर्नु पर्दछ ।
  • जैविक सुरक्षाका(Bio security) एकदमै महत्वपूर्ण कुरा हो जसमा बाहिरबाट फार्ममा विभिन्न विषाणु तथा जिवाणु ले सर्ने रोगहरू लाई रोकथाम तथा नियन्त्रण गर्ने पद्धतिको कुरालाई आलम्बन गर्दछ। यसका सरसफाइ लागि आवश्यक पर्ने एन्टिसेप्टिक, डिसनइन्फेकेन्ट , चूनको प्रयोग जस्ता कुराहरुलाई अवलम्बन गर्नु पर्दछ ।

.ब्रिडको छनोट:

 प्रजनन्का लागि बोकाको छनौट :

प्रजनन्का लागि बोकाको छनौट गर्दा समूहमा सबैभन्दा बढी तौल भएको लामो खँदिलो शरीर भएको सिधा जीउ, लामो गर्धन, गर्धनका पछाडीको भागमा लामो लामो रौं का झुप्पा भएको, चौडा छाती भएकोजुम्ल्याहा मध्येको एक तथा आफ्नो उमेर समुहमा सबैभन्दा ठूलो भएको राम्रो मानिन्छ। त्यसैगरी  पहिलो पटक व्याउने बेलामा कम्तिमा २ ओटा स्थायी दात भएकी, रोग सहनसक्ने क्षमता बढी भएका बाख्रीबाट जन्मेको बोका र प्रजनन अंगहरूको राम्रो सग विकास भएको दुवै अण्डकोषहरूको राम्ररी विकास भएको हुनुपर्दछ । संसर्गका बेला सक्रिय हुने बलियो आक्रामक, फुर्तिलो बोका हुनुपर्दछ जन्मतौल २ किलोग्राम भन्दा बढी तौल भएको र ६ महिनामा १५ किलोग्राम तौल पुग्ने हुनुपर्दछ ।

प्रजनन्का लागि माउ बाख्राको  छनौट

प्रजनन्का लागि माउ बाख्राको छनौट गर्दा  बथानमा सबैभन्दा ठूलो देखिने, लामो खाँदिलो शारीरिक आकार भएको चारै खुट्टा बराबर भएको, शरीरको पछाडीको भाग फुकेको जन्मतौल करिब २ किलोग्राम भएको रोग प्रतिरोधात्मक क्षमता भएको छिटो शारीरिक वृद्धि हुने ९ महिनामा १३ – १५ किलोग्राम भन्दा बढी तौल भएको राम्रो मानिन्छ । ९ महिनाको उमेरमा पहिलो पटक गर्भधारण गरेकी माउबाट जन्मेको । कल्चौडोको आकार ठिक्क भएको चारै थुन बराबर भएको जात अनुसार जुम्ल्याहा सन्तानमध्येको एक तथा जुम्ल्याहा पाठापाठी जन्माउने खालको । तुहिने रेकर्ड नभएको रोग प्रतिरोधात्मक क्षमता उच्च भएको विभिन्न खालको स्थानिय वातावरणसंग सजिलै घुलमिल हुनसक्ने ।

. आहार व्यवस्थापन:

मुख्यतया बाख्रापालन व्यवसायबाट फाइदा लिनका लागि आहारा व्यवस्थापन सस्तो रुपमा उपलब्ध हुनु राम्रो मानिन्छ।  बाखापालनमा लाग्ने कुल लगानीको करिव ६०% खर्च आहारामा व्यवस्थापन मै  लाग्ने  गरेको पाइएको छ । बाख्राको शारीरिक विकास, बाच्न, हुर्कन, प्रजनन गर्न, सन्तान उत्पादन गर्न तथा मासु दुध उत्पादन गर्नका लागि आहाराको सबैभन्दा बढी भूमिका हुन्छ । बाख्राको आहारामा नभई नहुने ६ ओटा पौष्टिक तत्वहरू तथा तिनका श्रोतहरू निम्नानुसार रहेका छन ।

१. कार्बोहाईड्रेट(Carbohydrate):

कार्बोहाईड्रेट पौष्टिक तत्व रुपमा शक्तिको मुख्य श्रोत मानिन्छ । शरीरलाई चाहिने उर्जा यसैबाट प्राप्त हुन्छ साथै शरीरको तापक्रमलाई कायम राख्न, खाएको आहारा पचाउन,  स्वास फेर्न, मुटुलाई चलायमान राख्न, उत्पादन लिनपनि यसको आवश्यकता पर्दछ । अकोसे अन्नवालीहरू जस्तै: मकै, कोदो, गहुँ, जौ, नल, पराल र उखु जस्ता बालीहरूबाट बढी मात्रामा कार्बोहाईड्रेट प्राप्त हुन्छ । यो तत्व बढी मात्रामा भएमा बोसो लागी उत्पादन नदिन सक्छ भने कम भएमा वृद्धिदर घट्ने, ढिलो बयस्क हुने, सन्तान उत्पादनमा कमी साथै दुध उत्पादनमा पनि कमी हुन्छ ।

२. बोसो / चिल्लो पदार्थ(Fat):

शरीरमा ताप उत्पादन गर्नु यसको प्रमुख कार्य हो । बढी भएको चिल्लो पदार्थ शरीरमा बोसोको रुपमा संचित रहन्छ र आवश्यकता परेको खण्डमा यसलाई कार्बोहाइड्रेट तथा पानीमा परिणत गरि शरीरमा ताप र शक्ति पैदा गर्छ । चिल्लो पदार्थमा कार्बोहाइड्रेट भन्दा २२५ गुणा बढी शक्ति हुन्छ । यसका श्रोतहरूमा तोरी, तिल, बदाम, सुर्यमुखीको फूल, तोरिको पिना, भटमासको पिना आदि तेलहन बाली र यसका उपपदार्थ यसका प्रमुख श्रोत हुन् ।

३. प्रोटीन(Protein):

शारीरिक वृद्धिका लागि चाहिने प्रमुख पौष्टिक तत्व हो । शारीरिक वृद्धि, सन्तान उत्पादन तथा प्रजननका लागि यसको महत्वपूर्ण भूमिका छ । हुर्कदो उमेरका पाठापाठी, दूध उत्पादन गर्ने माउ, गर्भवती आदिलाई यसको आवश्यकता बढी पर्दछ । शरीरका नाश तथा बिग्रे भत्किएका तन्तुहरूको पुर्ननिर्माण तथा कोषहरूको वृद्धिका लागि यसको आवश्यकता प्रोटिनको वनस्पतिजन्य श्रोतहरूमा कोषे डालेघाँस, गेडा गुडी चना, दाल, भटमास, मटर आदि) र कोषे भुईघाँस आदिबाट प्राप्त गर्न सकिन्छ पशुजन्य प्रोटिनका श्रोतहरूमा दुध, फुल, मासु, माछा तथा माछाको सिद्रा मासुको धुलो, हड्डिको धुलो, रगतको धुलो आदि पर्दछन् ।

४. खनिज पदार्थ(Minerals):

करिब २१ प्रकारका खनिजहरू शरीरका लागि आवश्यक हुन्छन् । विभिन्न जैविक प्रकृया, सन्तान उत्पादन तथा दुध, उन उत्पादनका लागि आवश्यक पर्दछ । पशु आहारावाट नै खनिजको पूर्ति हुन्छ । कोषेबाली, पिना तथा गेडागुडी यसका मुख्य श्रोतहरू हुन् । केही मुख्य खनिज पदार्थहरू निम्नानुसार रहेका छन् ।

क्याल्सियम तथा फस्फोरस:

यसको कमीले हाड तथा दांत र प्रजनन सम्बन्धी रोगहरू लाग्न सक्छ । त्यस्तै यसको कमीबाट प्रजनन प्रणालीमा हार्मोनको उत्पादन तथा सन्तुलनमा फरक परेको हुन्छन् । क्याल्सियमको कमीले मांसपेशी खुम्चने हुन्छ। भर्खर व्याएको पशुमा क्याल्सियमको कमी भएमा दुधे ज्वरो(milk fever) पनि देखा पर्दछ ।

सोडियम (sodium) :

पशु वस्तुको खुराकमा तून कम भयो भने पशु माटो खाने, का चपाउने, दाना कम खाने, उत्पादनमा कमी ल्याउने आदि असरहरू देखिन थाल्छ । गर्भिणी वा दूध दिने बाखाको आहारामा यसको मात्रा ०.५ प्रतिशत हुनुपर्दछ वा मनलागेजति चाट्नका लागि नुन उपलब्ध गराउनु पर्दछ ।

तामा (copper):

यसको कमी भएको खण्डमा पशुहरूमा खुरको जोर्निनिरको हड्डीहरू सुनिने, जोनि सुनिएका वच्चाहरू जन्माउने, नवढने, दुध उत्पादनमा कमी आउने, बहर खोज्न ढिलो हुने, साल नझर्ने आदि देखिन्छ ।

आयोडिन(Iodine):

आयोडिनको कमी भएमा वयस्क पशुमा प्रजनन क्षमतामा कमी आउनको साथसाथै समय नपुगी बच्चा जन्मीने हुन्छ र रगत बन्नमा यसको नितान्त आवश्यकता हुन्छ ।

म्यागनिज(Mangnase):

यसको कमी भएमा पनि पशुहरूमा प्रजनन क्षमतामा ह्रास आउछन् ।

जिंक(Zinc) :

यसको कमी भएमा पनि वयस्कमा प्रजनन क्षमतामा कमी आउनुको साथै पशुमा वाली नजाने, उल्टी रहने, गर्भ नरहने आदि देखा पर्दछ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गर्दा हरियो घाँसपात बढी भन्दाबढी दिन सकेमा उपरोक्त विकृतिहरू देखा कमै पर्ने सम्भावना रहन्छ । किनकी हरियो घाँसपातमा प्रोटिन, विभिन्न भिटामिनहरूको साथै विभिन्न मिनरलहरू पाइने भएको हुदा यदि हाम्रा बाखाहरूलाई नियमित रुपमा घाँस, कोसेघांस तथा डालेघाँस खान दिएमा उपरोक्त धेरै थोक प्राप्त हुने गर्दछ ।

५. भिटामिनहरू(Vitamins) :

भिटामिन मुख्य २ प्रकारका हुन्छन् । पानीमा घुल्ने (भिटामिन B ग्रुप) र बोसोमा(Fat) घुल्ने (भिटामिन  A, D, E, K) बोसोमा घुल्ने भिटामिनहरू जनावरले आफैले उत्पादन गर्छन र पानीमा घुल्ने भिटामिनहरू विभिन्न खाद्यपदार्थहरूबाट प्राप्त गर्छन् ।

६.पिउने पानी(Drinking water):

पानीको श्रोत ताजा, प्रशस्त र एकनाश हुन आवश्यक पर्दछ । शरीरको कोषहरूको निर्माण वॄद्धि र परिचालन देखि शारीरिक तत्वको ओसार पसार र ताप परिचालनको लागि पानी आवश्यक हुन्छ । सामान्यतया २० केजी तौल बराबरको बाख्रालाई ४५० देखि १८० मि.लि. सम्म पानी प्रतिदिन आवश्यक हुन्छ यस बाहेक सुख्खा पदार्थ र पानीको अनुपात १४ हुनु पर्दछ । यसका साथै बाखाले प्रशस्त मात्रामा पानी खान नपाएमा रुची घटछ, कम खान्छ, शारीरिक वृद्धि कम हुन्छ, प्रजननदर घटछ, रोगहरूले बढी आक्रमण गर्छन् ।

 सुख्खा पदार्थ (Dry matter)

सामन्तया पशुलाई दिइने आहारा जस्तै: घाँस, पराल, दाना आदिमा केहि मात्रा जलांश प्रतिसत र केहि मात्रा सुख्खा पदार्थको प्रतिसत हुन्छ । पशुलाई खुवाउने आहारालाई हिसाब गर्दा यसमा भएको जलाश को मात्रा हिसाब नगरेर सुख्खा पदार्थको हिसाव गरि पशवस्तुलाई चाहिने सुख्खा पदार्थ उपलब्ध गराउनु पर्दछ । साधारणतया हरियो घाँसपातमा  २० भाग सुख्खा पदार्थ र ८० भाग पानी हुन्छ ।

सुख्खा पदार्थको उपभोग घांस आहाराको स्वादिलोपना र आहारामा भएको जलाशं प्रतिशत आदिमा भर पर्ने भए तापनि मासु उत्पादनको लागि पालिने बाख्राहरूलाई जीवित तौलको ३४ प्रतिशत र दूधको लागि पालिने बाखालाई जीवित तौलको ५-७ प्रतिशत सुख्खा पदार्थ आवश्यक हुन्छ ।

. हेरचाह:

 व्याउने माउको हेरचाह तथा स्याहार सुसार

  • व्याउने माउलाई धेरै दुरिसम्म हिडडुल तथा दौडाउनु हुन्न ।
  • गर्भावस्था भएको ३ महिना पुगेपछि बच्चा पनि छिटो बढ्दै जाने हुंदा आहाराको सन्तुलन मिलाउनु पर्ने हुन्छ ।
  • दैनिक रूपमा २००- २५० ग्रामको दरले १४ देखि १६ प्रतिशत प्रोटिन भएको दाना दिनुपर्छ। अन्तिम महिना तिर व्याउने माउलाई बथानबाट अलग राखी उचित दानापानीको व्यवस्था मिलाउनु पर्दछ ।
  • व्याउनु पूर्व १४-११५ दिन अगाडी देखि दानाको मात्रा आधा घटाउँदै चोकरको मात्रालाई बढाउदै लैजानु पर्दछ। साथै यस्तो बेलामा खनिज तत्वकको बढी आवश्यकता भएको हुनाले बेलाबेलामा खनिजको ढिक्का चाट्न दिनु पर्छ र माउलाई छुट्टै व्याउने कोठामा सुविधा युक्त ढंगले राख्नु पर्दछ ।
  • बाख्राको गर्भावधि सरदरमा १५० दिनको हुन्छ । व्याउने माउलाई चिस्यान, चर्किलो इत्यादि बाट जोगाउनु पर्दछ ।

व्याएको माउको हेरचाह तथा स्याहार सुसार

  • व्याए पछी सफा न्यानो ठाउँमा दुबै माउ र पाठापाठीलाई राख्नुपर्छ ।
  • व्याएपछि साल(placenta) निस्कन १२- १६ घण्टा लाग्दछ, र त्यो समयमा साल निस्केको ननिस्केको छ की छैन भनि हेर्ने, ननिस्केको अवस्थामा भेटेरिनरी प्राविधिकको सल्लाह अनुसार उपचार गर्नु पर्दछ । थुन र फाचो डिटोल पानीले सफा गरि घुने र पाठेघरलाई विभिन्न जिवाणु तथा विषाणुहरुको संक्रमणबाट बचाउनु पर्दछ ।
  • बाली लगाउनु पूर्व ८-१० दिन अगाडी विभिन्न गोलो, फित्ते, नामले जुका विरुद्धका औषधी खुवाउनु पर्दछ । बाली जाने समयभन्दा १५-२० दिन अघिदेखि आहारा बढाउनु पर्दछ, यस्तो गर्दा  जुम्ल्याहा तथा तिम्ल्याहा पाठापाठी व्याउने सम्भावना बढी हुन्छ ।

भर्खर जन्मेका पाठापाठीको हेरचाह

  • पाठापाठी जन्मिने वित्तिकै नाक मुख वरिपरी भएको जालो सुख्खा र सफा कटनको कपडाले पुछी दिनुपर्छ ।
  • पाठापाठीलाई उस्को माउलाई चाटन दिनु पर्छ भर्खर जन्मेका पाठापाठीको नाभि काटि दिनुपर्छ यसरी नाभि काट्दा माथिबाट इन्च जति छोडेर सफा धागो वा क्याटगटले बाँधेर त्यसको अलिकति तलबाट निर्मलिकरण गरिएका ब्लेडले टिन्चर आयोडिन बेटाडिन आदि लगाईदिनु पर्छ ।
  • पाठापाठी जन्मेको एक घन्टाभित्र माउको बिगौती दुध खान दिनु पर्छ । किनकी बिगौति दूधमा रोग बिरुद्ध लड्ने प्रतिरक्षा प्रणालीका विभिन्न किसिमका तत्वहरु पाईन्छन्। पाठापाठीलाई दुध चुसाउनु अघि माउको धुन र कल्चौडो मनतातो पानिले राम्रोसंग धोइ सफा कपडाले पुछेर दिनु पर्छ पाठापाठीलाई बिगौति दुध जन्मेको ३ दिन सम्म खाएजति खान दिनुपर्छ, बिगौती दुधले पाठापाठी लाइ शारीरिक वृद्धि तथा रोगसंग लड्न सक्ने क्षमता प्रदान गर्छ ।
  • भर्खर जन्मेका पाठापाठी लाइ ओभानो र न्यानो स्थानमा राख्नु पर्छ ।
  • जन्मेको ३ हप्ता सम्म पाठा पाठी लाई दिनमा ३ पटक दूध खान दिनु पर्छ र ३ हप्ता पछि ४ महिना सम्म दिनको २ पटक दुध खान दिए पुग्छ । ४ महिना पछि माउको दुध छुटाउनु पर्छ र दैनिक रूपमा १००-१५० ग्राम सन्तुलित दाना दिनपनि सुरु गर्न पर्दछ ।
  • यदि माउको दुध नआएमा गाई वा भैसीको वा बजारमा पाइने पाउडर दूध दिनमा २०० देखी ३०० एमएल सम्म खानदिनु पर्छ दुध छुटाएपछि पाठा पाठीलाइ जुकाको औषधि खान दिनु पर्छ ।

Leave comment

dev