अर्गानिक राज्य सिक्किम र नेपाल: प्रचण्ड न्यौपाने

लेखक: प्रचण्ड न्यौपाने 
Bsc. Ag. 7th Semester
IAAS Pakhlihawa

परिचय:

भारतको सबैभन्दा सानो र कान्छो राज्य सिक्किमको पूर्णरुपमा आर्गानिक राज्यका रुपमा स्थापित हुँदा सम्मको कथा सम्पूर्ण विश्व जगतकै लागि प्रोत्साहन बन्न सक्छ। एक समयमा भारतको गरिब राज्यहरु मध्ये स्थान बनाएको सिक्किम अहिले अत्याधिक आयआर्जन गर्ने राज्यको सूचीमा सूचीकृत छ। सिक्किम विगत दुई दशकमा दिगो विकासमा अग्रणी राज्य हो। सन् २०१६ मा सिक्किमले आफूलाई पूर्णरूपमा अर्गानिक राज्यको रुपमा घोषणा गरेको थियो।

सिक्किमलाई पूर्णरूपमा अर्गानिक बनाउने मार्ग भने त्यति सजिलो थिएन। हिमालयको काखमा अवस्थित एक सानो राज्यमा कैयौसाना–साना पाटा–पाटा परेका खेतबारी थिए। राज्य सरकारले करिब साठी हजार किसानहरुलाई सुदृढ नीति तथा कार्यक्रम र जलवायु मैत्री खेतीको तालिम दिएको थियो। सुरुका केही वर्ष निकै समस्या खेप्नु पर्यो । बाली नसप्रनाले कृषि उत्पादन घट्न थाल्यो।

Advertisements

यसो हुनुकोप्रमुख कारण भने कृषिमा प्रयोग भइरहेको रासायनिक मलखाद र विषादी हटाइनु थियो। सिक्किम सरकारले पहिले नै कृषि सम्बद्ध विषादी एवं रासायनिक मल आयात गर्न बन्द गरिसकेको थियो। रसायन सिंचित माटोलाई प्राकृतिक अवस्थामा फर्कन समय लाग्नु स्वाभाविक थियो। योजना अवधिभर राज्य सरकारले कृषकहरुलाई सहयोग गरिरह्यो र थप सुदृढ पार्नका लागि सन् २००३ मा सिक्किम स्टेट आर्गानिक बोर्डको स्थापना गर्यो।

बोर्ड स्थापना गर्नुको प्रमुख उद्देश्य अर्गानिक नीति निर्माण गर्नु एवं त्यसको कार्यान्वयन, रासायनिक मल खाद एवं विषादीको करमा बढोत्तरी गर्नु, विषादीयुक्त तरकारी एवं फलफूल आयातमा रोक लगाउनु, प्रांगारिक मल एवं बिउबिजन उत्पादनमा बृद्धि गर्नु, कृषि प्रसारको माध्यमले किसान र युवालाई प्रोत्साहित गर्नु थियो।

सन् २०१० मा सिक्किम आर्गानिक मिसनु लागू गरियो जसको उद्देश्य पचास हजार हेक्टर जमिनलाई अर्गानिक विधि अनुसार खेतीयोग्य बनाई सन्२०१५ को अन्त्य सम्ममा सिक्किमलाई पूर्ण अर्गानिक राज्य बनाउनु थियो। यो मिसन अन्तर्गत किसानलाई सहयोग गर्न थुप्रै कार्यक्रमहरु संचालन गरियो र कृषक फिल्ड स्कूल, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अर्गानिक फर्म प्रमाणीकरण, उपभोक्ता शिक्षा र जनचेतना, साना फर्म इकाई, नयाँ बजार खोजी एवं विद्यालय पाठ्यक्रममा अर्गानिक खेतीलाई समावेश पनि गरियो।

सिक्किम सरकारको यो क्रान्तिकारी कदमले छैसठ्ठी हजार भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भए। यति मात्र नभई सम्पूर्ण सिक्किमेली जनताहरूको सामाजिक आर्थिक ढाँचा नै परिवर्तन भयो। उनीहरूले यसलाई पर्यटनको राम्रो अवसरको रुपमा विकास गरेर ग्रामीण विकासमा पनि सेवा पुर्याए र स्वरूप २०१६ को अन्त्यसम्म आइपुग्दा सिक्किमेली जनताहरूको आयआर्जनमा मात्र वृद्धि नभई औसत आयु पनि १० बर्ष ले बृद्धि हुन पुग्यो।

सिक्किमलाई एक सफल अर्गानिक राज्य बनाउनुको प्रमुख श्रेय सिक्किमका पहिलो मुख्यमन्त्री पवन चाम्लिङलाई जान्छ। उनले सन् १९९४ मा आफ्नो कार्यकाल सुरु गरेपछि वातावरण संरक्षण र यसै अनुकूल खेती प्रणालीमा जोड दिँदै आएका थिए। उनलाई “Greenest Chief Minister” को नामले पनि चिनिन्छ। उनलाई दर्जनौं अवार्ड द्वारा सम्मानित गरिएको पनि छ।


नेपालमा आजका दिनमा अर्गानिक खेतीको निकै चर्चा चल्न थालेको छ। शिक्षित वर्गको अर्गानिक उत्पादन प्रतिको मोहले पनि कृषकहरुलाई थप बल दिँदै आएको छ। नेपाल पनि सिक्किम जस्तै भौगोलिक बनावट भएको मुलुक हो। हामी पनि जलवायु परिवर्तनको चपेटमा छौ। सम्पूर्ण देशको पानीको आपूर्ति गर्न तीन महिनाको वर्षा पर्याप्त छैन। त्यसैमा पनि जलवायु परिवर्तनले सुख्खा समय बढाएको छ। कृषकहरुले पानीको समस्या झन्बढ्दै गएको अनुभव गर्दै आइरहेका छन्।

नेपाल एक न्यून प्रतिव्यक्ति आय भएको मुलुक हो। यहाँका अधिकांश जनता कृषिमा निर्भर छन्। मानिसहरूको आर्गानिक खेती प्रति आकर्षण बढ्नुको प्रमुख कारण विषादी र रासायनिक खेतीका कारणले निम्त्याएको समस्याहरुको विकर्षणले गर्दा हो। रसायन र विषादीले वातावरणमा पारेको प्रतिकूल असर र त्यसको दुष्परिणामका कारणले आम किसानले भोग्न परेका अनेकौं समस्याहरूको एउटा चित्तबुझ्दो र स्वस्थकर समाधान पनि अर्गानिक खेती हो।

अर्गानिक खेतीका थुप्रै फाइदाहरु मध्ये जल संरक्षण सबैभन्दा लोकप्रिय पाटो हो। विज्ञका अनुसार परम्परागत खेती प्रणालीले अर्गानिक खेती प्रणाली भन्दा ३० देखि ४० प्रतिशतसम्म बढी पानी माग गर्दछ। International Federation  या “Organic Agriculture Movement”  ले किसानलाई जलवायु परिवर्तनलाई सामना गर्ने अस्त्रका रुपमा अर्गानिक खेतिलाई लिएको छ। उक्त संस्थाले भूसंरक्षण, माटोको पोषकतत्वको चक्र संरक्षण र माटोको उद्धार गर्ने कार्यमा प्राविधिक ज्ञान र सीपको मद्दत गर्दै आइरहेको छ।

पछिल्ला समयहरुमा नेपाल सरकारले पनि यस क्षेत्रमा काम गर्दै आइरहेको छ तर प्रभावकारी रुपले काम चाहिँ अघि बढ्न पाइरहेको छैन। सरकारले जैविक खेतीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकेको खण्डमा महिला शसक्तिकरणमा पनि मद्दत पुग्नेछ किनकि कृषिमा अझै पनि महिलाको सहभागिता उल्लेखनीय छ।

अर्गानिक खेतीले कृषिलाई दिगो बनाउनुको साथै नेपालीहरूको स्वास्थ्य क्षेत्रमा पनि नयाँ आयाम थप्नेछ। अझ पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ। अर्गानिक खेतिलाई प्रभावकारी बनाउनका लागि राज्य स्तरबाटै नीति निर्माण गरी कार्यक्रमहरु ल्याउन जरुरी छ। यसका साथै रसायनको प्रयोग निरुत्साहित गरिनुपर्छ। नेपालमा अहिले थुप्रै आर्गानिक फर्महरु सञ्चालित छन्र ती फर्महरुलाई पनि बेलाबखतमा सहयोग र अनुगमनको आवश्यकता छ। नेपालको मध्यपहाडी जिल्ला जुम्ला पहिलो अर्गानिक जिल्ला घोषणा भइसकेको छ र अब यो क्रम अन्य जिल्लामा पनि फैलिन जरुरी छ।

( स्रोतः Philippe Dresruse द्वारा  welt hunger hilifeमा लिखित लेख र इन्टनेटमा उपलब्ध लेखहरू)

हाम्रो मोबाइल एप डाउनलोड गर्नुभयो ? अब सबै खाले कृषि मापक, अर्गानिक कृषि, नवीनतम कृषि, व्यावसायिक पशुपालन, खेती प्रविधि, बाली रोग तथा किरा व्यवस्थापन सहित सम्पूर्ण कृषि प्रविधिसम्बन्धि जानकारीको लागि हाम्रो एप डाउनलोड गर्न तलको फोटोमा Click गर्नुहोला |

Comment on "अर्गानिक राज्य सिक्किम र नेपाल: प्रचण्ड न्यौपाने"

  1. 9805305363

    तालिम को व्यवस्था छ कि नाई?

Leave comment

dev