पहाडी कृषकको लागि बरदान साबित मकै छोडाउने मेसिन र कोदो चुट्ने मेसिन

मकै छोडाउने औजार (कर्नशेलर)

मकै छोडाउने काम ज्यादै झन्झटयुक्त र गाह्रो मानिदै आएको छ । परम्परागत तरिका (हँसियाले हान्ने वा हातले छोडाउने) ले मकै छोडाउदा हातको औला र नङमा घाउ हुने, हत्केला र औलामा ठेला उठ्ने र घाउ हुने, १–२ घण्टा भन्दा बढी मकै छोडाउन नसक्ने जस्ता समस्या हुन्छन । यिनै समस्यालाई मध्यनजर गर्दै कृषि इन्जिनियरिङ्ग महाशाखा, खुमलटारबाट हातले र खुट्टाले चलाउन मिल्ने दुई किसिमको मकै छोडाउने औजारहरुको विकास भएको छ ।

Advertisements

हाते मकै छोडाउने औजार (Tubular Corn sheller) सानो हुन्छ जसलाई टेबलमा जडान गरि प्रयोग गर्न सकिन्छ । यस औजारले एक घण्टामा १३–१५ के.जी. मकै छोडाउन सक्छ र मकै छोडाउदा मकैको दाना फुट्दैन । परम्परागत तरिकाले मानिसले आफ्नो हातले छोडाउदा प्रति घण्टा ७–८ के.जी मात्र सक्छ । खुट्टाले चलाई मकै छोडाउने औजार (Pedal Corn sheller) मा चलाउने मान्छे बस्नलाई साईकलमा जस्तै सिट तथा खुट्टाले चलाउने चेन स्प्रोकेट राखिएको हुन्छ ।

यसले प्रति घण्टा २७–२९ के.जी. जति मकै छोडाउन सक्छ । दुइमध्ये जुनसुकै औजार प्रयोग गरेपनि ग्रामीण महिलाहरुमा स्थानीय तरिकाबाट मकै छोडाउदा भैरहेको झन्झटिलो कार्य घट्न जान्छ । पहाडी क्षेत्रका साना किसानको लागि ज्यादै उपयोगी देखिएको यी हलुका औजारहरु विभिन्न जिल्लामा प्रयोग हुदै आइरहेको छ ।

पावर कर्न शेलर

बिजुलीको सहायताले मकै छोडाउने थ्रेसर पनि एक प्रकारको पावर कर्न शेलर हो । नेपालमा हाल विभिन्न ब्रान्डका इन्डियन तथा चाईनिज मोडेलका इलेक्ट्रीक कर्न शेलरहरु उपलब्ध छन् । सिंगल फेज ६५० वाटको इलेक्ट्रीक मोटर बाट चल्ने थ्रेसेरले १ घण्टामा ७५० के.जी मकै छोडाउन सक्छ । इलेक्ट्रीक मोटरले मकै छोडाउने रोटरलाई करिब २२५० rpm मा घुमाउदा प्रति मिनेट २५–३० वटा मकैको घोगा छोडाउन सकिन्छ । यस शेलरको तौल २५ के.जी. रहेको छ । हलुका हुनाले पहाडी क्षेत्रको लागि बढी उपयोगी देखिएको छ ।

कोदो चुट्ने मेसिन

कोदो चुट्ने तथा फल्ने मेशिन कोदो नेपालको पहाडी र हिमाली क्षेत्रको खाद्य सुरक्षाको दृष्टिकोणबाट एक महत्वपूर्ण खाद्यान्न बाली हो । नेपालमा कोदोको खेती करिव २,६८,००० हेक्टरमा गरिन्छ । नेपालमा कोदोको खेती तराईको २०० मिटर उचाई देखि तल्लो हिमाली भेगको ३००० मिटरसम्म भएता पनि देशभरको ८० प्रतिशत कोदोको खेती मध्य पहाडी जिल्लाहरुमा हुन्छ । कोदोको बाला काटेर घाममा सुकाए पछि कोदो चुट्ने काम गरिन्छ ।

कोदो चुट्ने काम लठ्ठिले बाला लाई हानेर सम्पन्न गरिन्छ । यसरी लठ्ठिले कुटेर कोदो चुट्दा दुईजनाले १५–२० किलो कोदो प्रति घण्टा मात्र चुट्न सकिने र झंझट हुनुको साथै कोदोको गेडा छरिएर नोक्सानी हुने पाइएको छ । कोदोको गेडा बालाबाट छुट्टाई सकेपछि पनि गेडामा भुस रहेको हुन्छ । सो भुसलाई हटाउन ओखल वा ढिकिमा कुटेर फल्ने काम गरिन्छ । यसरी कोदो चुट्न, निफन्न, फल्ने र फेरि निफन्ने कार्य सकेपछि सफा कोदोको गेडा छुट्टयाइन्छ ।

यसरी परम्परागत रुपबाट कोदो चुट्ने फल्ने कार्य गर्दा दिन भरमा एकजनाले करिब १०–१५ के.जी कोदोको गेडा छुट्याउन सक्छ । कृषकहरु लाई कोदो सफा चुट्ने र फल्ने झन्झटिलो कार्यबाट मुक्त गर्न दुई किसिमको मेसिनको विकास कृषि इन्जिनियरिङ्ग महाशाखा, नेपाल कृषि अनुसन्धान परिषद, खुमलटारबाट भएको छ ।

१. बिजुलीबाट चालित कोदो चुट्ने÷फल्ने मेसिन
२. खुट्टाबाट चालित कोदो चुट्ने÷फल्ने मेसिन

 

बिजुलीबाट चालित कोदो चुट्ने÷फल्ने मेसिनः

यस मेसिन विवेकानन्द पर्वतीय कृषि अनुसन्धान केन्द्रबाट विकसित कोदो चुट्ने÷फल्ने मेसिनलाई नेपालको परिप्रेक्षमा परिक्षण गरी सुधार गरी विकास गरिएको हो । यस मेसिनमा सोली (Hopper), थ्रेसिङ्ग ड्रम र ब्लोअर हुन्छ । यस मेसिनको थ्रेसिङ्ग ड्रमको मुनि जाली राखिन्छ । कोदो चुट्ने समयमा ठूलो प्वाल भएको जाली राखिन्छ भने कोदो फल्ने समय मसिनो जाली राखिन्छ । यस मेसिन १÷२ घोडाको मोटर बाट चल्छ । यस मेसिनले एक घण्टामा ३५÷४० किलो कोदो चुट्ने÷फल्ने कार्य गर्छ । यस मेसिनको चुट्ने क्षमता (Threshing efficiency) ९८५ पाइएको छ । यस मेसिनको तौल ४४ के.जी. हुन्छ ।

खुट्टाबाट चालित कोदो चुट्ने÷फल्ने मेसिनः

विजुलीबाट चालित कोदो चुट्ने÷फल्ने मेसिन बिजुली नभएको ठाउँमा प्रयोग गर्न नसकिने हुनाले कृषकहरुको लागि खुट्टाको सक्रियबाटसंचालन हुने यस मेसिन ज्यादै उपयोगि हुदै आएको छ । यस मेसिनमा सोली, थे्रसिङ्ग सिलिण्डर, खुट्टाले चलाउने पाउदानी हुन्छ । यस थ्रेसरको थे्रसिङ्ग सिलिण्डरको मुनि पनि जाली राखिन्छ । बाला चुट्ने समयमा मोटो जाली र कोदो फल्ने समयमा मसिनो जाली राखिन्छ । यस थे्रसरबाट १ घण्टामा ४५÷५० के.जी चुट्ने÷फल्ने कार्य गर्छ ।

यस मेसिनको चुट्ने दक्षता (Threshing efficiency) कोदो चुट्ने दक्षता ९८५ पाइएको छ । यस मेसिनमा अलग पंखा नभएको हुदा निफन्ने काम मानिसले नै गर्न पर्दछ । यस मेसिनको तौल ४८ के.जी हुन्छ । यस मेसिनलाई महिला पुरुष दुवैले सजिलै चलाउन सक्छन् । हाल नेपालका विभिन्न जिल्लाहरु जस्तै सिन्धुपाल्चोक, काभ्रे, दोलखा, हुम्ला, जुम्ला, मकवानपुर, धादिंग आदिका किसानहरुले यसको व्यापक प्रयोग गर्दै आएका छन् ।

हाम्रो मोबाइल एप डाउनलोड गर्नुभयो ? तलको फोटोमा Click गरेर डाउनलोड गर्न सक्नुहुनेछ |

Leave comment

dev